नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा देशभरका वडा तहमा अधिवेशन उत्साहजनक रूपमा अघि बढेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ७३ जिल्लाका छ हजार १३२ वडामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयनको काम सम्पन्न भइसकेको छ। असोज १६ देखि १९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि तल्लो तहबाटै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया तीव्र पारिएको हो।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने हालसम्म वडा अधिवेशन सञ्चालन हुन सकेको छैन। यस्तै, कोशी प्रदेशसहित मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश क्षेत्रमा अधिवेशन सफलताका साथ सकिएको निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले जानकारी दिए।
केही स्थान र विशेष परिस्थिति उत्पन्न भएका क्षेत्रहरूमा भने सोमबार असोज ५ गतेसम्म अधिवेशन सम्पन्न गराउने गरी प्रक्रिया अगाडि बढाइएको छ। सप्तरी, सिरहा, मोरङ, रौतहट, सर्लाही र परासीका केही निश्चित क्षेत्र तथा बाढी प्रभावित जिल्लाहरूमा रोकिएका अधिवेशनहरू निरन्तर रूपमा सञ्चालन गरिने समितिले जनाएको छ।