दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निरन्तरको वर्षासँगै प्रांगण जलमग्न हुँदा बिरामीहरू सास्ती खेप्न बाध्य भएका छन्। अस्पतालको मुख्यद्वारदेखि औषधी पसल, प्रयोगशाला र स्वास्थ्य बिमा कक्षसम्म घुँडासम्म आउने पानी जम्ने गरेको छ। ज्वरोका बिरामी बंगलाचुलीका आकाश पुन र छातीको समस्या लिएर दंगीशरणबाट आएका रामसुरत चौधरी जस्ता कैयौँ सेवाग्राही घण्टौँसम्म तलाउमै उभिएर उपचारको पालो पर्खिरहेका छन्। हिलो र पानीको आहालमा उभिनुपर्दा बिरामीको स्वास्थ्य थप बिग्रिने जोखिम बढेको छ।
अस्पतालको यस्तो भद्रगोल अवस्थाका कारण सेवाग्राहीहरू आक्रोशित बन्दै तल्लो तहका कर्मचारीमाथि प्रश्न गरिरहेका छन्। हालै स्वच्छ प्रतिस्पर्धाबाट नियुक्त भएका नयाँ उपकुलपति डा. अजयकुमार मिश्रले प्रतिष्ठान सुधारको प्रतिबद्धता जनाए पनि प्रांगणको जलमग्न अवस्थाले उनको आश्वासनलाई फिक्का तुल्याइदिएको छ। यद्यपि, उपकुलपति डा. मिश्रले अस्पताल बाहिरको भेल भित्र छिरेकाले यो समस्या आएको दाबी गरेका छन्। उनले पानीको दीर्घकालीन निकासका लागि आगामी शुक्रबारसम्म नाला निर्माणको ठेक्का आह्वान गर्ने तयारी भइरहेको र समस्या समाधानका लागि घोराही उपमहानगरपालिकासँग पनि समन्वय भइरहेको जानकारी दिएका छन्।