बाँके जिल्लामा हरियाली वनक्षेत्र तीव्र अतिक्रमणको चपेटामा परेको छ। डिभिजन वन कार्यालयको अध्यावधिक तथ्याङ्क अनुसार हालसम्म ६०७ दशमलव ९८ हेक्टरभन्दा बढी वनको जग्गा अतिक्रमण गरी करिब तीन हजार ९९० वटा घरटहरा निर्माण भइसकेका छन्। प्राकृतिक विपत्तिका कारण विस्थापित भएका बाढीपीडित परिवारहरूको अव्यवस्थित बसोबासका कारण वनक्षेत्र साँघुरिँदै गएको हो।
अतिक्रमणको मुख्य शृङ्खला वि.सं. २०६६ र २०७४ का विनाशकारी बाढीसँग जोडिएको छ। तत्कालीन समयमा सुरक्षित थलो खोज्दै वनक्षेत्रमा पुगेका बाढीपीडितहरूको दीर्घकालीन व्यवस्थापन हुन नसक्दा यो समस्या बल्झिएको हो। हाल नरैनापुर गाउँपालिकामा मात्रै २७३ हेक्टर वन ओगटेर ९७५ घरधुरी बसेका छन्। यस्तै, राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाहरूमा करिब २८५ हेक्टर वनक्षेत्र अतिक्रमण गरी दुई हजार छ सयभन्दा बढी परिवारले बसोबास तथा खेतीपाती गर्दै आएका छन्।
यसका अतिरिक्त कोहलपुर, बैजनाथ, डुडुवा र नेपालगञ्जका कतिपय क्षेत्रमा समेत सयौँको संख्यामा अतिक्रमण गरी संरचनाहरू बनाइएका छन्। अधिकांश अतिक्रमण २०७५ सालअघि नै भएको भए तापनि यसलाई हटाउन सकिएको छैन। डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङका अनुसार चालु आर्थिक वर्षभित्रै विशेष योजना बनाएर अतिक्रमित वनक्षेत्र खाली गराउनेतर्फ आवश्यक कदम चालिने भएको छ।