नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित १४ सदस्यीय पदाधिकारी टोलीभित्रको राजनीतिक समीकरणमा उल्लेख्य फेरबदल आएको छ। तत्कालीन सभापति शेरबहादुर देउवाको प्यानलबाट चुनाव जितेका अधिकांश पदाधिकारीहरू अहिले महामन्त्री गगन थापाको समूहतिर ढल्किएका छन्।
अहिलेको परिस्थितिमा देउवा पक्षमा सहमहामन्त्री उमाकान्त चौधरी मात्रै स्पष्ट रूपमा उभिएका छन्। पूर्वउपसभापति पूर्णबहादुर खड्का महाधिवेशनमा प्रत्यक्ष रूपमा सक्रिय नदेखिए पनि देउवालाई समर्थन गर्ने बचन दिएका छन्।
अर्कातर्फ, डा. शेखर कोइरालाको प्यानलबाट जितेका पूर्वउपसभापति धनराज गुरुङ र सहमहामन्त्री बद्री पाण्डे भने अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन्। उनीहरू आगामी राजनीतिक यात्राका विषयमा अझै अनिर्णित नै रहेका छन्।