अमेरिकी युट्युबर, उद्यमी तथा चर्चित परोपकारी जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट) नेपालका बाढी प्रभावितहरूको सहायताका लागि अघि सरेका छन्। हालै नेपालको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण संकटमा परेका नागरिकहरूलाई राहत पुर्याउन उनले विश्वव्यापी रूपमा रकम संकलन अभियान सुरु गरेका हुन्।
आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमार्फत सन्देश जारी गर्दै मिस्टर बिस्टले नेपालका विपद् प्रभावितहरूका लागि आफूहरूले लाखौँ डलरको राहत कोष खडा गर्न लागेको जानकारी दिएका छन्। प्राकृतिक विपत्तिको यस कठिन घडीमा हातेमालो गर्न आग्रह गर्दै उनले विश्वभरका आफ्ना समर्थक र सर्वसाधारणलाई यस अभियानमा उदारतापूर्वक सहयोग गर्न आह्वान गरेका छन्।
विश्वमै सबैभन्दा धेरै सब्स्क्राइबर भएका सामग्री निर्माताका रूपमा स्थापित मिस्टर बिस्ट सामाजिक र मानवीय कार्यमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनको यो अन्तर्राष्ट्रिय पहलले नेपालका बाढीपीडितहरूका लागि तत्काल आवश्यक राहत सामग्री, खाद्यान्न र पुनःस्थापनाका कार्यहरूमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।