काठमाडौँको एक आवासीय घरबाट बहुमूल्य सुनका गरगहना चोरी गरेको अभियोगमा प्रहरीले रामेछापका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नम्बर १ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २३ वर्षीय दीपेश मग्रान्ती रहेका छन्।
गत भदौ २९ गते काठमाडौँस्थित एक घरमा कोही नभएको मौका पारेर सुनका गहना चोरी भएको घटनाबारे प्रहरीमा निवेदन परेको थियो। लगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले खोजी कार्य तीव्र बनाएको थियो। सूक्ष्म अनुसन्धान र खोजतलासका क्रममा चोरीमा मग्रान्तीको संलग्नता देखिएपछि प्रहरी टोलीले उनलाई भदौ ३१ गते नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीका अनुसार पक्राउ परेका मग्रान्तीमाथि चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ। चोरी गरिएका गहनाको अवस्था तथा घटनामा अन्य व्यक्तिको संलग्नता रहे/नरहेको विषयमा समेत आवश्यक छानबिन भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा पठाइएको छ।