नेकपा एमालेभित्रको आन्तरिक समीकरण र आगामी राजनीतिक दिशालाई लिएर उच्च तहको दौडधुप बढेको छ। यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। पछिल्लो समय भण्डारीको सक्रियता र पार्टीमा उनको सम्भावित भूमिकालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला यी भेटघाटहरूलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अध्यक्ष ओली र महासचिव पोखरेलले बूढानीलकण्ठस्थित भण्डारीको निवास पुगेर समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा छलफल गरेका हुन्। भेटमा पूर्वराष्ट्रपति भण्डारीले पार्टीलाई एकताबद्ध बनाएर लैजान र जनताका मुद्दामा केन्द्रित हुन सुझाव दिएको बुझिएको छ। एमालेको आगामी महाधिवेशन र शक्ति सन्तुलनमा भण्डारीको प्रभाव रहने चर्चाका बीच शीर्ष नेताहरूको यो भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।