नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक एकताको नयाँ वातावरण सिर्जना भएको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहबाट अलग भएका नेताहरू सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेर केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन्। सानेपा पुगेका ती नेताहरूलाई अंकमाल र ‘जय नेपाल’ को न्यानो अभिवादनसहित बैठक कक्षमा स्वागत गरिएको थियो।
पार्टीलाई एकजुट बनाउने र आगामी महाधिवेशनमा सम्पूर्ण पक्षलाई समेट्ने सभापति थापाको सकारात्मक पहलकदमीलाई समर्थन गर्दै उनीहरू केन्द्रीय सदस्यको हैसियतमा बैठकमा उपस्थित भएका हुन्। सानेपामा देखिएको यो पछिल्लो दृश्यले कांग्रेसभित्रको आन्तरिक तिक्तता मेटिँदै गएको र पार्टी नयाँ ऊर्जाका साथ महाधिवेशनतर्फ अघि बढेको संकेत गरेको छ।