नेकपा एमालेभित्र प्रतिवेदन लेखनको विषयलाई लिएर शीर्ष नेतृत्वबीच रस्साकस्सी सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पुनर्लेखनका लागि अघि सारेको प्रस्तावलाई महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले अस्वीकार गरिदिएका छन्। आफ्ना विश्वासपात्र मानिएका नेताहरूबाटै असहयोग भएपछि ओलीले अब सो प्रतिवेदन तयार पार्ने जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई दिएका छन्।
बैठकका क्रममा विकसित यो घटनाक्रमले एमालेको आन्तरिक राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। ओलीले ‘त्यसो भए प्रदीपजीले लेख्नुहुन्छ’ भन्दै जिम्मेवारी हेरफेर गरे पनि पार्टीभित्रको असन्तुष्टि भने साम्य भएको छैन। कतिपय नेताहरूले ओलीको यो कदमलाई आफ्नो अडान लाद्ने प्रयासका रूपमा हेरेका छन्।
पार्टीका एक नेताका अनुसार, अध्यक्ष ओलीमा समस्या आउँदा अरूलाई देखाएर दबाब दिने पुरानो स्वभाव छ। केन्द्रीय कमिटीमा आफ्नो पक्षमा बहुमत रहेको विश्वासमा ओली रहे पनि धरातलीय यथार्थ फरक हुन सक्ने ती नेताको दाबी छ। प्रतिवेदन लेखनमा देखिएको यो खिचातानीले आगामी दिनमा पार्टीको नीति र नेतृत्वको दिशा कता जान्छ भन्ने कौतुहलता बढाएको छ।