नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्। अधिवेशन प्रक्रियाका क्रममा गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्क पुगेकी भुसालले पार्टीभित्रका सानातिना असहमति र मतभिन्नतालाई बिर्सेर एकताबद्ध भई अगाडि बढ्न आह्वान गरेकी हुन्।
कांग्रेसलाई अझ सुदृढ, सशक्त र गतिशील बनाउन तल्लो तहदेखिकै अधिवेशनको ठूलो भूमिका रहने उल्लेख गर्दै उनले कुनै पनि कार्यकर्तालाई विचलित नभई प्रक्रियामा सक्रियतापूर्वक लाग्न प्रेरित गरिन्। वडा तहबाटै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै पार्टीमा नयाँ ऊर्जा र नेतृत्व चयनका लागि यो अधिवेशन महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ।
सन्धिखर्कमा आयोजित कार्यक्रममा उनले पार्टीको सङ्गठन निर्माणमा सबैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भन्दै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन तल्लो तहका अधिवेशनहरू निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिइन्।