विराटनगर— नेपाली कांग्रेसले देशभर एकैसाथ वडा अधिवेशन सञ्चालन गरिरहेका बेला मोरङ क्षेत्र नम्बर ६ मा भने अन्योल सिर्जना भएको छ। पार्टीका प्रभावशाली नेता डा. शेखर कोइराला तथा सहमहामन्त्री डिला संग्रौलाको आफ्नै गृहक्षेत्रमा निर्धारित समयमा अधिवेशन सुरु हुन सकेको छैन।
क्रियाशील सदस्यहरूको अद्यावधिक नामावली समयमा उपलब्ध हुन नसकेका कारण वडा अधिवेशन प्रक्रिया रोकिएको हो। केन्द्रीय तहबाट क्रियाशील सदस्यताको अन्तिम सूची नआउँदा स्थानीय तहका नेता तथा कार्यकर्ताहरू अन्योलमा परेका छन्। नामावली प्राप्त हुनासाथ प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरेर अधिवेशन अघि बढाइने बताइएको छ।