नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर शीर्ष तहमै तीव्र मतभेद देखिएको छ। पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले अब नेतृत्वबाट बिदा लिनुपर्ने विषयलाई मुख्य निष्कर्षका रूपमा प्रस्तुत गरिएको थियो। पार्टी सञ्चालन र भावी दिशाका लागि नेतृत्व हस्तान्तरण आवश्यक रहेको महासचिवको प्रतिवेदनको ठहर थियो।
तर, महासचिवको सो निष्कर्षलाई चुनौती दिँदै पार्टीभित्र अर्को समानान्तर प्रतिवेदन तयार पारिएको छ। सम्बन्धित कार्यदलमै नरहेका नेता प्रदीप ज्ञवालीले अध्यक्ष ओलीकै निर्देशनमा छुट्टै प्रतिवेदन तयार पारेका हुन्। उक्त नयाँ दस्ताबेजमा महासचिव पोखरेलले अघि सारेको नेतृत्व परिवर्तनसम्बन्धी सम्पूर्ण बुँदा तथा प्रस्तावलाई पूर्ण रूपमा खारेज गरिएको छ।
ज्ञवालीद्वारा तयार पारिएको प्रतिवेदनमा नेतृत्वको बहिर्गमनको मागलाई पन्छाउँदै उल्टै अध्यक्ष ओलीको कार्यशैली र योगदानको खुलेर प्रशंसा गरिएको छ। कार्यदलबाहिरका नेतामार्फत नेतृत्वको प्रतिरक्षा गर्दै नयाँ प्रतिवेदन ल्याइएपछि एमालेको आन्तरिक राजनीतिमा ओली पक्ष र इतर समूहबीचको विवाद थप पेचिलो बनेको छ।