इरानसँग चुलिँदै गएको द्वन्द्व र तनावका कारण संयुक्त राज्य अमेरिकाको सैन्य खर्च उल्लेख्य रूपमा वृद्धि भएको छ। पछिल्लो तथ्याङ्क अनुसार यस क्षेत्रमा अमेरिकाको कुल खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर बराबर पुगेको छ। लगातार बढ्दो यो आर्थिक भारले अमेरिकी रक्षा बजेटमा ठूलो प्रभाव पारिरहेको विश्लेषण गरिएको छ।
सार्वजनिक भएको नयाँ विवरण अनुसार अमेरिकी सेनाले गरेको कुल खर्चमध्ये सबैभन्दा ठूलो भार हतियार तथा आधुनिक क्षेप्यास्त्र प्रणालीमा परेको छ। यस सैन्य अभियानका क्रममा आवश्यक हतियार र क्षेप्यास्त्र खरिद तथा परिचालनमा मात्रै २८ अर्ब १० करोड अमेरिकी डलर खर्च भइसकेको तथ्याङ्कले देखाएको छ।
रक्षा क्षेत्रका जानकारहरूका अनुसार सुरक्षा तैनाथी, अत्याधुनिक प्रतिरक्षा प्रणाली र युद्धक सामग्रीको उच्च प्रयोगले गर्दा आगामी दिनहरूमा यो लागत थप बढ्न सक्ने अनुमान गरिएको छ। मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति कायम राख्न तथा हतियारको भण्डारण पुनःपूर्ति गर्न भइरहेको यो भारी खर्चलाई लिएर अहिले चौतर्फी चर्चा सुरु भएको छ।