सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले करिब दुई हजार १०३ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा डाक्नेश्वरी–६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखिया रहेका छन्। उनीहरूले आफ्नै घरमा गाँजा लुकाइराखेको भन्ने जानकारी पाएपछि प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा घरभित्र लुकाइएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
शनिबार पक्राउ परेका उनीहरूलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो। यति ठूलो परिमाणमा अवैध लागुऔषध फेला परेपछि प्रहरीले यसको स्रोत र ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।