मनास्लु आधारशिविरमा विगत तीन दिनदेखि जारी युवाहरूको आमरण अनशन अन्ततः स्थगित भएको छ। गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले वार्ता र संवादका माध्यमबाट माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनशन फिर्ता लिइएको हो।
प्रदेश सरकार र एमक्यापले आज अनशनरत युवाहरूलाई पत्र पठाउँदै उनीहरूका मागहरूबारे संवाद गर्न तयार रहेको जनाएका थिए। प्रतिबद्धता पत्र प्राप्त भएसँगै अनशन टोलीका अगुवा दावा नुर्बु लामाको नेतृत्वमा रहेका युवाहरू बेसक्यापबाट सामागाउँ फर्किएका छन्। वार्ताबाटै समस्याको सकारात्मक समाधान निस्कने विश्वास लिइएको छ।