नेपालमै मुटुको ठूलो शल्यक्रिया नगरी भल्भ तथा संरचनागत समस्याको विश्वस्तरीय उपचार सम्भव बनाउन वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. स्मृति शाक्य जुटेकी छिन्। इजरायलको प्रख्यात शेबा मेडिकल सेन्टरबाट ‘स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन’ सम्बन्धी फेलोसिप पूरा गरेर स्वदेश फर्किएकी उनले जटिल मुटु रोगको आधुनिक उपचार अब स्वदेशमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्। विगत सात वर्षदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा. शाक्य आवश्यक प्रविधि र स्रोतसाधनको उचित व्यवस्थापन मिलाएर यो सेवा विस्तार गर्न लागिपरेकी हुन्।
परम्परागत रूपमा छाती चिरेर गरिने ओपन-हार्ट सर्जरीको विकल्पमा आएको यो आधुनिक प्रविधि विशेषगरी वृद्धवृद्धा तथा उच्च जोखिम रहेका बिरामीहरूका लागि वरदान साबित हुने देखिएको छ। यस विधिमार्फत छाती नचिरिकन, तिघ्राको नसामार्फत सानो पाइप (क्याथेटर) पठाएर टाभी (TAVI) र टिइइआर (TEER) जस्ता प्रक्रियाद्वारा मुटुको बिग्रिएको भल्भ मर्मत वा नयाँ फेर्न सकिन्छ।
युद्धको चरम जोखिमका बाबजुद इजरायलमा ज्ञान र सीप हासिल गरेर फर्किनुभएकी डा. शाक्यको मुख्य ध्येय नेपाली नागरिकले आधुनिक मुटु उपचारका लागि विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्नु हो। दक्ष जनशक्ति नेपालमै उपलब्ध भएकाले अत्याधुनिक उपकरण र पूर्वाधारको विकास गर्दै नेपालको कार्डियोलोजी सेवालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिने उनको विश्वास छ।