City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

बाँके जिल्लामा हरियो वन अतिक्रमणको चपेटामा पर्दै गएको छ। डिभिजन वन कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षसम्म ६०७ दशमलव ९८ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण भई करिब…

बाँके जिल्लामा हरियो वन अतिक्रमणको चपेटामा पर्दै गएको छ। डिभिजन वन कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षसम्म ६०७ दशमलव ९८ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण भई करिब तीन हजार ९९० वटा घरटहरा निर्माण भइसकेका छन्। यो अतिक्रमणको ठूलो हिस्सा विगतमा बाढीबाट विस्थापित भएका परिवारहरूसँग जोडिएको छ।

विशेषगरी २०६६ र २०७४ सालको विनाशकारी बाढीपछि सुरक्षित वासस्थानको खोजीमा आएका पीडितहरू वनक्षेत्रमा बस्दै आएका छन्। नरैनापुर गाउँपालिकामा मात्रै २७३ हेक्टर वन मासेर ९७५ घरधुरी बसेका छन्। उता राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाहरूमा २८४ हेक्टरभन्दा बढी वनक्षेत्रमा दुई हजार छ सयभन्दा बढी परिवारले घरटहरा बनाएर बसोबास र खेतीपाती गरिरहेका छन्। यसैगरी डुडुवा, कोहलपुर, बैजनाथ र नेपालगञ्जका केही भागमा पनि सयौँ टहरा बनाइएका छन्।

कार्यालयका सूचना अधिकारी टङ्क गुरुङका अनुसार बाँकेमा भएका अधिकांश वन अतिक्रमण २०७५ सालभन्दा अघिकै हुन्। बाढीपीडितका नाममा वनक्षेत्र ओगट्ने र पछि व्यवस्थित स्थानमा नसार्दा समस्या बल्झिँदै गएको हो। अतिक्रमण बढेपछि वन संरक्षणमा ठूलो चुनौती थपिएको छ। यसै आर्थिक वर्षभित्र उचित योजना बनाएर अतिक्रमित वनक्षेत्र खाली गराउने अभियान सञ्चालन गर्ने तयारी वन कार्यालयले गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *