सरकारी तथा गैरसरकारी निकायबाट छिट्टै सेवा निवृत्त हुँदैमा मानिसको आयु घट्दैन। नेदरल्यान्ड्समा भएको अध्ययनअनुसार उमेरै नपुगी वा स्वेच्छिक अवकाश लिँदा मरण उमेरमा असर पर्दैन। आधुनिक चिकित्सा प्रणालीका कारण मानिसको औसत आयु बढेर निवृत्तपछिको जीवन सालाखाला २० वर्षभन्दा लामो हुन थालेको छ। तर, लामो आयुसँगै शारीरिक र दिमागी स्वास्थ्यलाई उत्तिकै चुस्त राख्नु मुख्य चुनौती बनेको छ।
उमेर ढल्कँदै जाँदा शरीरको आन्तरिक रासायनिक प्रक्रिया सुस्त हुने भएकाले २५ वर्षपछि प्रतिवर्ष दैनिक ५ क्यालोरीका दरले कम ऊर्जा आवश्यक पर्छ। त्यसैले पाको उमेरमा खान्कीको मात्रा घटाएर नजिकै फलेका स्थानीय तथा पोषणयुक्त ‘जिरो किलोमिटर’ खानामा जोड दिनुपर्छ। जटिल कसरतको सट्टा नियमित हिँडडुल, हल्का व्यायाम र समयमै स्वास्थ्य परीक्षण गर्नाले उमेरजन्य शारीरिक समस्याहरूलाई धेरै हदसम्म पछि धकेल्न सकिन्छ।
बुढेसकालमा दिमागी तन्दुरुस्ती र प्रसन्नताका लागि औषधिभन्दा सामाजिक सक्रियता बढी प्रभावकारी मानिन्छ। नातिनातिनासँग खेल्ने तथा धार्मिक र सामाजिक जमघटमा सामेल हुने गर्दा एकांकीपन हट्छ। करिब एक शताब्दी लामो प्रसिद्ध ‘हार्वर्ड स्टडी’ले पनि अत्यधिक धनसम्पत्ति, आनुवंशिक बनावट वा उच्च बौद्धिक क्षमताभन्दा मनमिल्ने ३ देखि ५ जना सच्चा साथी हुनु नै मानिसलाई जीवनभर सुखी र मानसिक रूपमा स्वस्थ राख्ने प्रमुख आधार भएको पुष्टि गरेको छ।