राजधानीको पर्यटकीय केन्द्र ठमेल क्षेत्रमा शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा ३५ जना विरुद्ध प्रहरीले कानुनी कारबाही अघि बढाएको छ। रात्रिकालीन समयमा पर्यटकीय गतिविधि सञ्चालन हुने सो क्षेत्रमा अवाञ्छित तथा गैरकानुनी कार्यमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार ठमेल तथा आसपासका क्षेत्रमा चलाइएको विशेष सुरक्षा निगरानीका क्रममा सर्वसाधारण र पर्यटकलाई सास्ती दिने, होहल्ला गर्ने तथा सार्वजनिक शान्ति भङ्ग गर्नेहरू पक्राउ परेका हुन्। नियन्त्रणमा लिइएका सबै जनामाथि आवश्यक अनुसन्धान गरी अभियोग दर्ता गरिएको छ।
ठमेल क्षेत्रलाई चौबीसै घण्टा सुरक्षित, अनुशासित र मर्यादित रूपमा सञ्चालन गर्ने वातावरण बनाउन प्रहरीले विशेष अपरेसन जारी राखेको छ। सो क्षेत्रमा आउने पर्यटक र स्थानीय व्यवसायीको सुरक्षालाई ध्यानमा राख्दै अनैतिक तथा अवाञ्छित गतिविधि गर्ने जोकोहीमाथि कडा कदम चालिने प्रहरीले जनाएको छ।