राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचना प्रविधिको आधुनिक युगमा संसदीय कामकारबाहीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। उनले डिजिटल पार्लियामेन्ट प्रणालीलाई केवल सङ्घीय संसदमा मात्र सीमित नराखी प्रदेश सभा र क्रमशः स्थानीय तहसम्म पुर्याउनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षण सञ्चालन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यो प्रविधिले सुशासन र पारदर्शिता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। संसदका गतिविधिहरूलाई सर्वसाधारणको पहुँचसम्म पुर्याउन र कामकारबाहीलाई छिटो-छरितो बनाउन डिजिटल प्रणाली अत्यावश्यक भइसकेको उनको भनाइ थियो।
प्रविधिको उच्चतम प्रयोगले जनप्रतिनिधि र जनताबीचको दूरी घटाउन सहयोग पुग्ने बताउँदै उनले स्थानीय तहसम्मै यस्तो प्रविधि विस्तार गर्न सकिए शासकीय व्यवस्था अझ सुदृढ हुने उल्लेख गरे। डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन सबै तहका निकायहरूबीच प्रविधि हस्तान्तरण र निरन्तर समन्वय आवश्यक रहेको धारणा पनि उनले राखेका छन्।