प्रधान सेनापति अशोकराज सिग्देलले चीनको औपचारिक भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासको अवलोकन गर्नुभएको छ। १३ औँ बेइजिङ सियाङसान फोरममा सहभागी हुन चीन पुग्नुभएका उहाँले दूतावासका अधिकारीहरूसँग भेटघाट गरी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल गर्नुभएको हो।
साताव्यापी भ्रमणको सिलसिलामा बेइजिङ पुग्नुभएका प्रधान सेनापतिले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग समसामयिक विषयमा विचार आदानप्रदान गर्नुभएको छ। उहाँको यो भ्रमणले दुई देशबीचको सैन्य तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। सुरक्षा र प्रतिरक्षाका रणनीतिक मुद्दाहरूमा छलफल हुने यस फोरममा नेपालको प्रतिनिधित्व गर्दै उहाँले विभिन्न अन्तर्राष्ट्रिय सरोकारका विषयमा समेत चासो राख्नुहुनेछ।