झन्डै ९० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले राजधानीको नागपोखरीबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी ठेगाना भएका हिमांशु भुवनिया रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंगलबार उनलाई काठमाडौँ महानगरपालिका-१ स्थित नागपोखरी चोकबाट पक्राउ गरेको हो। भुवनियामाथि बैंकिङ कसूर तथा वित्तीय ठगीसम्बन्धी गम्भीर आरोप लागेको थियो।
मुद्दा दर्ता भएपछि उनी कानुनी प्रक्रिया छलेर लामो समयदेखि फरार सूचीमा रहँदै आएका थिए। पक्राउ परेका भुवनियालाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित अनुसन्धान निकायमा बुझाइएको छ भने घटनाबारे थप प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।