काभ्रेको बनेपा नगरपालिकामा सेवारत महिला स्वास्थ्य स्वयंसेविकाहरूले बाढी र पहिरोबाट प्रभावित नागरिकहरूका लागि आर्थिक सहयोग जुटाएका छन्। बनेपाका वडा नम्बर १ देखि १४ सम्म कार्यरत ८२ जना स्वास्थ्य स्वयंसेविकाहरूले रकम सङ्कलन गरी रसुवाका पीडितहरूलाई राहत पठाएका हुन्।
हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण क्षति व्यहोरेका परिवारहरूलाई सघाउने उद्देश्यले उनीहरूले प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले कुल ८२ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेका छन्। सामाजिक स्वास्थ्य सेवामा अग्रपंक्तिमा रहेर काम गर्दै आएका यी महिला स्वयंसेविकाहरूको सहयोगले विपद्को घडीमा मानवीय सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ।