पूँजी बजारको सुधार र सबलीकरणका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार साँझ विशेष कार्ययोजना सार्वजनिक गरेका थिए। नयाँ नीति आएलगत्तै लगानीकर्तामा केही उत्साह देखिए पनि त्यसले बजारमा स्थायी सकारात्मक प्रभाव पार्न भने सकेन। कार्ययोजना घोषणाको भोलिपल्ट प्रि-ओपनिङ सत्रमा सेयर बजार परिसूचक ह्वात्तै ८५ अंकले बढेको थियो, तर बजार बन्द हुने समयसम्म आइपुग्दा यो वृद्धि खुम्चिएर ४८ अंकमा मात्र सीमित हुन पुग्यो।
बजार बन्द हुँदा परिसूचकको वृद्धि दर घट्न पुगेपछि प्राविधिक विश्लेषणको क्यान्डिलस्टिक चार्टमा रातो संकेत देखिएको थियो। लगानीकर्ताको यो क्षणिक उत्साह बुधबारसम्म आइपुग्दा झनै सुस्ताएको छ। बुधबारको कारोबारमा सेयर बजार थप २१.१९ अंकले ओरालो लागेपछि सरकारको नयाँ कार्ययोजनाप्रति लगानीकर्ता अझै पूर्ण रूपमा विश्वस्त हुन नसकेको देखिएको छ।