बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको विभत्स हत्यामा संलग्न रहेको अभियोगमा ६ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत बाजुराका न्यायाधीश मदनबहादुर धामीको इजलासले उक्त हत्याकाण्डमा संलग्न ६ अभियुक्तलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। यो घटना २०७९ साल मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिनसँग जोडिएको छ।
निर्वाचनका क्रममा त्रिवेणी नगरपालिकामा भएको विवाद र झडपपछि अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका अयडीमाथि उनी आफ्नै घरमा बसिरहेको बेला आक्रमण भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको थियो। सोही घटनालाई लिएर लामो समयदेखि कानुनी बहस जारी रहेको थियो।
अदालतले कान्त खत्री लगायतका ६ जनालाई जन्मकैदको सजाय तोकेको छ भने सोही मुद्दामा आरोपित अन्य केही व्यक्तिहरूलाई प्रमाणको अभावमा सफाइ दिएको छ। यस हत्याकाण्डले बाजुराको राजनीति र सामाजिक वातावरणमा ठूलो हलचल ल्याएको थियो। पीडित पक्षले लामो समयदेखि न्यायको माग गर्दै आन्दोलन समेत गरेका थिए। अदालतको यो फैसलासँगै डेढ वर्षभन्दा लामो समयदेखि चल्दै आएको कानुनी प्रक्रियाको एउटा महत्वपूर्ण अध्याय टुंगिएको छ।