प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पदको दुरुपयोग गर्दै वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इजरायल जानका लागि सन् २०२४ मा लिइएको परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई लक्षित गरी ठगी गर्ने रामेछापका भरत चौलागाईँ र दोलखाकी बालिका सिवाकोटीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा उनीहरूले १५६ जना युवाबाट कुल २ करोड ५० लाख रुपैयाँ ठगी गरेको फेला परेको छ। पक्राउ परेका जोडीले प्रधानमन्त्रीको सचिवालयमार्फत पहुँच मिलाएर इजरायल पठाइदिने भन्दै प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँसम्म असुलेका थिए। परीक्षामा असफल भएकाहरूको भावनासँग खेल्दै उनीहरूले ठूलो रकम हत्याएको प्रहरीको ठहर छ।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले दिएको जानकारी अनुसार, आरोपितहरूमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ। राज्यका उच्च पदस्थ व्यक्तिको नाम जोडेर सर्वसाधारणलाई भ्रममा पार्ने र ठगी गर्ने यस्ता गतिविधिप्रति प्रहरीले कडा निगरानी राख्दै आएको छ।