नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया तीव्र बनेसँगै भोलि थप ३१ जिल्लाका वडा तहमा अधिवेशन आयोजना हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार पूर्वनिर्धारित कार्यतालिका बमोजिम नै बाँकी रहेका ती जिल्लाहरूमा वडास्तरीय नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउन लागिएको हो।
गत शनिबारबाट सुरु भएको वडा अधिवेशनका क्रममा हालसम्म ४३ जिल्लाका ३ हजार ३ सय ९६ वटा वडाहरूमा अधिवेशन तथा निर्वाचनका सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन्। बाँकी जिल्लाहरूमा पनि उत्साहजनक सहभागिताका साथ अधिवेशन सम्पन्न गराउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।