पूर्वउपप्रधानमन्त्री तथा कम्युनिस्ट नेता डा. भीम रावलले शीर्ष नेताहरूमा देखिएको पदलोलुपता र कम्युनिस्ट आचरणको कमीका कारण देशमा वामपन्थी शक्तिहरूबीचको एकता फितलो हुँदै गएको टिप्पणी गर्नुभएको छ। नेताहरूको व्यक्तिगत स्वार्थ र वैचारिक विचलनले गर्दा सिंगो कम्युनिस्ट आन्दोलन नै कमजोर बनेको उहाँको भनाइ छ।
बुटवलमा पुष्पलाल मित्रता केन्द्रले शनिबार आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता रावलले उक्त धारणा व्यक्त गर्नुभएको हो। उहाँले वामपन्थी शक्तिहरू एक ठाउँमा उभिन नसक्दा वर्तमान राजनीतिक परिदृश्यमा अस्थिरता बढेको औंल्याउनुभयो। वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन र वास्तविक एकता कायम गर्नका लागि नेताहरूले पदको मोह त्यागेर साँचो अर्थमा कम्युनिस्ट निष्ठा र आचरण अँगाल्नुपर्नेमा उहाँले जोड दिनुभयो।