पर्साको वीरगन्ज महानगरपालिकाले आउँदो दसैँअघि नै सहरको मुख्य सडक क्षेत्रलाई पूर्ण रूपमा सफा तथा व्यवस्थित बनाउने तयारी थालेको छ। सडक विस्तार अभियानका क्रममा जथाभावी अल्झिएका र लत्रिएका विभिन्न सेवा प्रदायकका तारहरूलाई हटाएर मिलाउने काम महानगरले सुरु गरिसकेको छ।
चाडपर्व नजिकिँदै गर्दा मुख्य सडकमा मानिसको आवतजावत र चहलपहल ह्वात्तै बढ्ने भएकाले सर्वसाधारणको सहजता र सुरक्षालाई ध्यानमा राखिएको हो। अव्यवस्थित तारले नगरको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम बढाएकाले दसैँअघि नै मुख्य सडक क्षेत्रलाई सुरक्षित र चिटिक्क बनाउने लक्ष्य महानगरपालिकाले लिएको छ।